हामीले सबैमा करुणा र कृतज्ञताको भाव राख्नुपर्छ, किनकी मानिस, जीव, जनावर, बोटविरुवा, ढुंगामाटो, आदि सबै पदार्थहरुमा परमात्माको निवास हुन्छ ।

परमात्माको अस्तीत्व खोज्ने हो भने, आफुले फेर्दै गरेको सासलाई अनुभव गर्नु, पिउदै गरेको पानीलाई अनुभव गर्नु, खादै गरेको अन्न र फलफुललाई अनुभव गर्नु ।

दिनमा सुर्यको तापलाई अनुभव गर्नु, रातमा चन्द्रमाको सितलतालाई अनुभव गर्नु, सधै र सबै प्राणीको भार थेग्नुहुने पृथ्वीलाई अनुभव गर्नु ।

र यी पदार्थहरु नभए आफ्नो अस्तीत्व के हुन्छ त्यसको पनि अनुभव गर्नु । अनी भेटिन्छ परमात्मा, अनी देखिन्छ परमात्मा ।

जीवनमा जति उर्फिएपनि पुगिने कहि होइन, लैजाने केहिपनि होइन । विश्वास नलागे घाटमा जल्दै गरेको लासलाई हेर्नु, हामीले जस्तै जीवनभर विभिन्न क्रियाकलाप गरेर अन्तमा सुखद मृत्युको पर्खाइमा रहेका बृद्धबृद्धाहरुलाई हेर्नु किनकी सबैको प्रकृया त्यही हो, सबै त्यही रोलक्रममा नै उभिएका हुन्छौ ।

जीवन रहदै आफ्नो आत्मा र परमात्माको बोध गराउनु, जब बोध हुन्छ तब अनन्त, निराकार र र्निगुनी परमात्मालाई प्राप्त गर्न सकिन्छ ।

शान्त, निशब्द र बन्द आँखाले एकाग्रह भएर ध्यानको गहिराइमा पुगेर एउटा बिन्दुमा परमात्माको बोध र अनुभव गर्न सकिन्छ ।

साथै मानिस आफनो स्वार्थ अर्थात म भन्दा पर पुगेर अरुको जीवन र जगतको लागी गर्ने निस्वार्थ कार्य नै मानिसको परम अवस्था हो, मानिसमा परमात्माको निवास त्यही अवस्थामा हुन्छ ।

ध्यानमा पनि जव आफुपनि मेटिन्छ तव परमात्माको अनुभव हुन्छ ।

प्रत्येक मानिसमा बुद्धको निवास हुन्छ, आफ्नो बुद्धलाई जगाउनु ।

यो शरिर हाम्रो हो तर हामी शरिर होइन, यो मन हाम्रो हो तर हामी मन होइन, यो संसारमा हामी छौ तर हामी यो संसारको होइन । शरिर, मन, हामीमार्फत देखिने संसार सबै अस्थायी हुन ।

किनकी मानिसको मृत्युपछि समाधीमा पुगेपछि यो सब विलिन हुन्छ, आफ्नो शरिर पनि, आफ्नो मन पनि, आफुले देखेको, भोगेको संसारपनि ।

मनबाट नै लोभ, कोध, मोह, अहंकार, आदि क्लेसको जन्म हुन्छ, हाम्रो शरिरपनि मनले नै संचालन गर्दछ ।

हामी विभिन्न बन्धनमा बाधिएर मनको जालमा नै अल्झिएर बसेको हुन्छौ ।

हाम्रो आत्मालाई हाम्रो मन र माया जालले घेरेर, बेरेर राखेको हुन्छ जुन आत्माले मनको जाललाई तोडेर अर्थात मनबाट पर पुग्न सक्छ तव त्यो आत्माले आफु भित्र निवास रहेको परमात्माको अनुभव गर्न सक्दछ ।

मनको तृष्णा अनन्त हुन्छ, त्यसैले मनकै मात्र साथ लागे अनायासै जीवन रहदै जीवनलाई नर्क र घाटमा पनि पुर्याउन सक्छ भने आफ्नो आत्माको साथ लागे जीवन रहदै स्वर्ग र परमात्मामा पुग्न सकिन्छ ।

हामी अर्थात आफनो बास्तविक स्वरुप आत्मासँग हाम्रो मन, विचार, स्मृतिहरु, शरिर जोडिएका हुन्छन तर परिस्थीति अनुसार मनमा पैदाहुने विभिन्न तरंग र भावहरु, मष्तिकमा पैदाहुने सोच र विचारहरु, स्मृतिहरु हामी हौइनौ हामी भित्र पैदा हुने भावहरु मात्र हुन तर यिनीहरु हामी आफु नै हौ भनेर ठान्छौ र त्यहि अनुसार अनावश्यक बोली र व्यवहार पनि गरिरहेको हुन्छौ ।

जव मनमा कुनै तरंग पैदा भएको छैन, मष्तिकमा विचार र विगतका यादहरु(स्मृति) पैदा भएको छैन र (ध्यानको अवस्थामा) शरिरको पनि बोध छैन अर्थात शुन्यको अवस्थामा छ तर आफु भएको भने बोध हुन्छ भने त्यहि अवस्था हो आफु अर्थात आत्मा बोध ।

त्यसैले पहिले आफैमा आफुलाई पहिचान गर्नु त्यसपछि मनबाट पैदा हुने क्रोध, लोभ, मोह, डर आदि विभिन्न भावहरु, मष्तिकबाट पैदाहुने विचार र स्मृतिहरु पहिचान गर्न सकिन्छ र मन र विचारको भावहरुलाई (निरिक्षण मात्रै गर्ने तर त्यसको पछि नलाग्ने यी भावहरुलाई नचलाउने, नगिजोल्ने र ) आफुमा नजोडेर जुनसुकै परिस्थितिमा पनि स्थिर र शान्त रहन सकिन्छ ।

आफुलाई पहिचान गर्नको लागी ध्यान नै उकृष्ठ माध्यम हो । किनकी ध्यानको माध्यमबाट शान्त भएर आफुलाई खोज्न सहज हुन्छ ।

मनलाई मनले नै निरिक्षण गर्नु, अशुद्ध भावहरुलाई क्रमैसँग हटाउनु , मनलाई नियन्त्रण र मनबाट पर पुग्न ध्यानबाट सम्भव हुन्छ ।

हाम्रो मानव जीवन यसकारण पनि अमुल्य र दुर्लभ छ किनकी मानिसले ध्यान गर्न सक्छ, आत्मा ज्ञानको बोध गर्न सक्छ, चेतनाको उच्चतम प्रयोग गर्न सक्छ ।

अन्यथा जनावरको पनि आत्मा र चेतना हुन्छ तर उनीहरुले न ध्यान गर्न सक्छ, न त आत्मा बोध नै जगाउन ।

हामी अर्थात एउटा आत्मा अविनासी हुन्छ । जव आत्माले मुक्ति पाउदैन तब मृत्युपछि कि त मानव कि त जीव जनावर भएर पुर्नजन्म लिने गर्दछ ।

त्यसैले पुर्नजन्म नहुनलाई जीवन रहदै हरेक बन्धनबाट मुक्त हुनुपर्दछ तव मात्र मुक्त आत्मा पुग्दछ परमात्मामा ।

पुनः नजन्मिनु हर प्रयास गर्नु, पुर्नजन्म कति पिडादायी हुन्छ आफ्नो बाल्यकाल देखी अहिलेको अवस्थालाई नै हेर्नु । मानव भएरमा जन्मिए त ठिकै, जीव, जनावर भएर जन्मिए अवस्था के होला ?

यसको अर्थ यो होइन की आफ्नो आत्मालाई मुक्त गर्नको लागी धनसम्पति, घरपरिवार, व्यापार व्यवसाय, जागिर, शिक्षा, लक्ष्य, उदेश्य छोडेर बनतिर लाग्नुपर्छ ।

यति होकी आफु जुन अवस्थामा भएपनि आत्माबोध जगाएर बाच्नु, होस र सत्यमा बाच्नु ।

हामीले के गरिरहेको छौ, के सोचिरहेको छौ र के बोलीरहेको छौ यसको प्रत्यक्ष बोध हुनु सामान्यतया हामीले बोली सकेर, कार्य गरिसकेर त्यसको बोध हुनेगर्छ ।

र कुनै पनि तत्वमा यति ग्रसित नहुनु कि जसले गर्दा त्यो तत्वको बन्धनबाट मुक्त हुन असम्भव होस । किनकी मानिसको आफ्नो इच्छा, चाहाना, मोह, तृप्तीको प्यास नमेटिदा पनि पुर्नजन्म हुन्छ ।

सबै त्यागेर हिडनु परेन तर त्याग्न सक्ने सन्यासी भाव राख्नु । सन्यासीको अर्थ हो सबै कुरा त्याग्ने हुनु । किनकी जेजे र जति बटुलेपनि आफुले नचाहदा नचाहदैपनि एक दिन सबै त्यागेर जानुपर्ने दिन पनि आउछ ।

त्यसैले आइपर्दा सबै त्याग्न सक्ने गरि आफुलाई सधै तयारि गरेर राख्नु अनिमात्र मृत्यु देखि भय हुदैन र मृत्युको भयबाट पनि मुक्त हुन्छ ।

हाम्रो मन, सोच, बोली, व्यवहारलाई शुद्ध बनाउने हर प्रयास गर्नु अन्यथा आफुले गरेको पाप कर्मको फल पुर्नजन्म लिएर भएपनि भोग्नु पर्नेहुन्छ ।

ध्यानबाट नै शरिर र मनबाट अलग हुन सकिन्छ र सम्मोहन विद्या मार्फत हाम्रो पुर्वजन्मको स्मृतिहरु पनि ताजा गर्न सकिन्छ ।

हाम्रो मस्तिष्क सचेत र अवचेतन गरी दुई प्रकारको हुन्छ । पुर्वजन्मको स्मृतिहरु सबै अवचेतन मस्तिष्कमा बसेको हुन्छ ।

ओसोले ध्यान र आध्यात्मलाई बैज्ञानिक तरिकाले मार्गदर्शन गर्नुभएको छ उहाँको ज्ञान मार्फत भगवान बुद्ध र श्रीकृष्णको मार्ग हिडन सरल हुन्छ ।

अन्यथा हप्ता र महिना लगाएर लाखौ, करोडौ मानिसलाई परमात्माको प्रवचन दिनेलाई नै परमात्मामा पुग्ने मार्ग त के परमात्माको बोधपनि हुननसकेको हुन सक्छ तर मन्दिर, स्तुपा तिर भिक्षाटन गरिरहेका कुनै भिक्षुलाई पनि परमात्माको बोध मात्रै होइन परमात्मामा सम्म पुग्ने मार्गको पनि ज्ञान हुनसक्छ । त्यसैले परमात्मासम्म पुर्याउन सक्ने सहि सदगुरुलाई खोज्नु ।

श्रीमदभगवतगीतामा जीवनको हरेक समस्याको समाधान छ, ध्यान मार्फत श्रीमदभगवतगीतालाई अनुभव गर्ने प्रयास गर्नु ।

शान्ति, खुसी र आनन्द आफै भित्र हुन्छ बाहिर अरुसँग र अरु पदार्थमा नखोज्नु ।

समय लाग्न सक्छ तर बुद्ध भगवानको १. सिल, समाधी र प्रज्ञा, २. चार आर्य सत्य, ३. अष्टाङग मार्ग यी तीन उपदेशको मार्गबाट मानिसले आफ्नो आत्माबोध भएर, मुक्त भएर, परमात्मालाई प्राप्त गर्न सक्दछ ।

(फोटोः गोदावरीबाट फुल्चोकी जाने बाटो)