प्रकृतिले मानव शरिरलाई प्रयोग गर्न दुईवटा मार्ग दिनु भएको छ ।
एउटा भोक्ता र अर्को द्रष्टा ।
भोक्ता अर्थात भौतिकी अर्थात सांसारिक भोगी । आफुलाई धर्मगुरु भन्नेहरुले संसारलाई मिथ्या र भ्रम भन्ने गर्छ तर त्यो सत्य होइन । भौतिक संसार पनि सत्य हो तर भौतिक बस्तुलाई उपभोग गरेर भौतिक बस्तु मात्रै सत्य हो भन्नेलाई भने भोक्ता भनिन्छ ।
भोक्ता प्राणि संसारमा भएको बस्तुहरुलाई भोग्ने, भोगमा डुब्ने र भोगको तृष्णामा नै जीवन सकाउछन । जसमा माया, मोह, इच्छा, चाहना, काम, बासना आदि तृष्णा भोक्ता प्राणीका गुणहरु हुन ।
पशु पनि भोक्ता प्राणी नै हो तर भोक्ता मानिस र पशुमा फरक हुन्छ । भोक्ता मानिसमा म मानिस हु भन्ने चेतना हुन्छ तर पशुमा हुदैन ।
द्रष्टा अर्थात साक्षी अर्थात मुक्त ।
मुक्त मानिस जीवनको हरेक क्षणमा साक्षी भावले बाच्छ अर्थात जीवनको हरेक कार्यमा उ कर्ता(म नै शरिर हु) भएर कार्य गर्दैन, कर्ता भएर भोग गर्दैन । आफ्नो जीवनको कृयाकलापमा उ द्रष्टा मात्रै हुन्छ ।
यसको अर्थ यो होइन की उ भौतिक बस्तुको उपभोग गर्दैन, गर्छ तर उपभोग भौतिक शरिरले गरिरहेको छ, मैले होइन भन्ने बोध हुन्छ । त्यसैले उ शरिरको ज्ञानिन्द्रियहरुको इच्छा, चाहना, काम, बासना आदिको पुर्ति तर्फ लाग्दैन, मात्र साक्षी भावमा बाच्छ ।
यसैमा कुनै सांसारिक मानिसलाई काम बासनाको चाहना हुन्छ भने उ यो चाहना मेरो हो भन्छ र उ बासनाको पुर्ति तर्फ लाग्छ र उ सांसारिक चक्रमा नै फसिरहन्छ र मुक्त हुदैन । यो नै मायाको जाल हो, सांसारिक हो ।
जो मानिस आफ्नो मनमा उठने विभिन्न भावहरुलाई मेरो भन्छ भने त्यो चाहि भ्रम हो, यो संसार अर्थात भौतिक संसार अर्थात प्रकृति भ्रम होइन, न त मानव शरिर भ्रम हो ।
सांसारिक मानिस म मन र शरिर हो भनेर बाच्छ भने द्रष्टा मानिस म मन र शरिर होइन भनेर बाच्छ । म आत्मा हो भनेर बाच्छ । र आत्मा कुनै भौतिक बस्तु होइन ।
जस्तो कि हामी आँखामा चस्मा लगाउछौ अथवा शरिरमा लुगा लगाउछौ भने त्यो चस्मा र लुगा हाम्रो हो तर हामी चस्मा र लुगा होइन नी ।
त्यसरी नै हाम्रो आत्मा अहिले मानव शरिरमा बास बसेको हो, न कि हामी शरिर हो ।
त्यसैले प्रकृतिले दिनु भएको मानव शरिरलाई हामी अर्थात एउटा आत्माले कसरी र कुन मार्गबाट प्रयोग गर्छ भन्ने मात्र हो । द्रष्टाको मार्गलाई आध्यामिक मार्ग पनि भनिन्छ, ध्यानको मार्ग पनि भनिन्छ, कर्म मार्ग पनि भनिन्छ, भक्ति मार्ग पनि भनिन्छ, सत्यको मार्ग पनि भनिन्छ, परमात्माको मार्ग पनि भनिन्छ ।
द्रष्टाको मार्गमा भौतिक बस्तुलाई उपभोग गर्नु हुदैन, त्याग गर्नुपर्छ भन्ने होइन, उपभोग गर्दा म अर्थात कर्ता नहुने मात्र साक्षी हुने अर्थात कसैले उपभोग गरिरहेको छ म हेरिरहेको छु भन्ने भाव हुने । जसले गर्दा हामी अर्थात एउटा आत्मा भौतिक संसारमा नै रहेरपनि संसारिक मोह, माया, चाहाना, बासना आदि तृष्णाबाट मुक्त रहन्छ ।
त्यसैले द्रष्टा र साक्षी भावलाई मोक्ष र मुक्ती पनि भनिन्छ ।
र द्रष्टा भावमा बाचेका मानिस मृत्युपछि फर्केर आउनु पर्दैन न त मानव शरिरमा, न त कुनै ८४ लाख शारिरिक योनीमा, न त कुनै अशारिर संसारमा ।