माया अर्थात एक संसार, भ्रमको संसार, मोहको संसार, मनको संसार, बन्धनको संसार र विवाह त्यहि बन्धन अन्तरगत पर्दछ । मानिस आफुले माया गरेको मान्छेलाई आफ्नो माया र मोहको जालमा, विवाहको बन्धनमा अर्थात एक घेरा, एक परिधि भित्र बाधेर राख्न चाहन्छ ।

मानिस डराउछ कि आफुले माया गरेको मानिस आफुसँगै रहिरहुन, आफुभन्दा पर नजाओस र उ आफ्नो मायालाई आफुसँग बाधेर राख्न हर कार्यहरु गर्दछ ।

तर प्रेम अर्थात एक स्वतन्त्र संसार, सत्यको संसार, करुणाको संसार, मुक्तिको द्धार ।

प्रेम अर्थात मुक्ति ।

भनिन्छ भगवान बुद्ध भन्दा पहिले महान सिद्ध र ध्यानी पुरुषहरु पनि मुक्त हुन सकेका थिएन । ध्यानको एक अन्तिम विन्दुमा पुगेर रोकिने गर्थे तर भगवान बुद्धले भने ध्यानको त्यो अन्तिम विन्दु कटन सफल हुनु भएको थियो ।
सायद त्यो विन्दु परमात्माको विन्दु हुनुपर्छ किनकी ध्यानको अन्तिम विन्दुमा परमात्मालाई पनि कटेर अर्थात छाडेर अघि जानुपर्दछ तव एक आत्मा मुक्त हुन्छ ।

सायद ति ध्यानी पुरुषहरुले परमात्मालाई कटेर जान चाहेनन वा जानुपर्छ भन्ने बोध भएन तर भगवान बुद्धले भने परमात्मालाई पनि कटेर अघि जानु भएको हुनुपर्छ किनकी ध्यानको मार्गमा परमात्माको विन्दु नै मुक्तिको अन्तिम द्धार हो ।

परमात्मा भन्दा पर केहि छैन, महाशुन्य छ, त्यसैलाई मुक्ति भनिन्छ ।

जसरी जमिनबाट छुटेर महासागरको यात्रा गर्दा समुद्रमा जमिनको अबशेष महाशुन्य हुने गर्दछ । त्यहि जमिनबाट छुट्ने र महासागर सुरुहुने बिन्दु, पोर्ट, बन्दरगाह नै महासागरको यात्रामा जमिनको अन्तिम विन्दु हुने गर्दछ ।

भगवान बुद्धले नै भन्नु भएको छ ध्यानको, मुक्तिको मार्गमा बुद्ध स्वयम आएपनि बुद्धको मोहमा नफस्नु, बुद्धको पछि नलाग्नु ।
किनकी परमात्मा प्रति मोहपनि मोहको नै एक अंश हो त्यसैले परमात्माले आफुलाई कटेर जाने मार्ग अर्थात परमात्माको संसार र परिधिलाई समेत नाघेर अघि जानलाई परमात्माले नै मार्ग खोलिदिनु हुन्छ ।

त्यसैले परमात्माको प्रेममा करुणा र मुक्ति हुन्छ । आफ्नै अंश आत्मालाई पनि मुक्त र स्वतन्त्र हुनलाई आफुलाई कटेर जाने मार्ग खोलिदिनुहुन्छ, परमात्माले ।

प्रेम न शरिरले गरिन्छ, न मनले गरिन्छ, न त प्रेमलाई विवाहले बाध्नु पर्ने आवश्यक्ता पर्दछ ।

प्रेम हृदयबाट फुल्ने एक स्वतन्त्र र करुणामयी कमलको फुल झै हो ।

र प्रेम स्वतन्त्र, खुला र मुक्त हुन्छ ।

यदि हुदैन भने बुझ्नु त्यो माया हो, प्रेम होइन ।

प्रेम त परमात्माको जस्तो हुनुपर्छ जहा एउटा आत्मालाई मुक्त हुनको लागी आफैलाई कटेर जाने मार्ग देखाइदिनु हुन्छ, मार्ग खोलिदिनु हुन्छ ।