संसारमा कयौ धर्महरु छन र प्राय मानिसहरु त्यहि धर्मको नियम र धर्मग्रन्थको आधारमा भगवानलाई पुज्ने गर्दछ, खुसी पार्ने प्रयास गर्दछन ।

तर के मानिसले आफ्नो सांसारिक सुखको प्राप्तीको लागी भगवानलाई खुसी पार्न जरुरी छ, यदि छ भने मानिसको इच्छा, आकाक्षा पुर्ति हुनको लागी अबोध पशुहरुले चाही आहुती दिनु पर्छ ?, यदि आहुती दिनै पर्छ भने अरुको ज्यानको बली दिएर पाएको त्यो खुसी र सन्तुष्ठि को अर्थ हुन्छ र?

मानिस आफ्नो खुसीको लागी पशु बली दिन्छन, एक सन्तान प्राप्तीको लागी अर्कोको सन्तानको बली दिने गर्दछन । आफनो शरिर मजबुद बनाउन, अरुको शरिर खाने गर्दछन । खानाको परिकार मिठो बनाउन अरुको शरिर पकाएर लुछ्ने गर्दछन ।

धर्मग्रन्थहरुमा नै लेखिएको आधारमा भन्ने हो भने अरुलाई क्षति पुर्याउनेहरु दानव हुन, त्यसो भए पशुको शिर छेदन गर्ने, पशुको शरिर लुछ्नेहरु कसरी मानव हुन सक्छन ।

साथै यदि सबै प्राणि भगवानको पुत्र हो भने, एक पुत्रको खुसीको लागी अर्को पुत्रको बली भगवानले कसरी स्वीकार गर्न सक्नुहुन्छ । किनकी विभिन्न धर्मग्रन्थहरुमा मानिस, पशुपंन्छी, जीव, जनावर आदि सबै प्राणिलाई भगवानको सन्तानको रुपमा लिइएको छ ।

यदि पशुबली सदियौ देखि चली आएको हो भने यो कसरी गलत हुनसक्छ, ढुंगे युगमा मानिसको प्रमुख आहार नै जङ्गली जनावरको शरिर थियो मांसाहार कसरी गलत हुन सक्छ ।

साथै विभिन्न धर्मग्रन्थहरुमा बलीको बारेमा लेखिएको छ भने पशु बली कसरी गलत हुनसक्छ भन्ने तर्कहरु पशु हत्या गर्ने बहानामात्र हुन र यो सबै मानिसमा अज्ञानताको कारणले भएको हो ।

पुर्खाहरुले अज्ञानतामा चलाएको गलत चलनहरु छन भने हामीले त्यो चलनहरुलाई खारेज किन नगर्ने, आगोसम्मको आविश्कार नभएको ढुंगे युगमा कन्दमूल र पशु शिकार बाहेक भोजनको लागी अरु विकल्प नहुनसक्छ अर्थात जीउनको लागी मांशाहार नै अनिवार्य हुनसक्छ ।

तर अहिले २१ औ सताब्दीमा मांशाहार बाहेकले मानिसको पेट भर्न सकिदैन र, मांशाहार बाहेकबाट मानव शरिरमा उर्जा प्राप्त गर्न सकिदैन र ?

धर्मग्रन्थमा बलीको बारेमा लेखिएको होला, पशु बली कै बारेमा लेखिएको होला, यसको अर्थ राँगा, भैँसी, बोका, कुखरा, हासँ, परेवा, आदिको बली दिने भनेको होइन ।

भैँसी यमराज कै वाहन भएपनि, यमराज आफैमा देवता हो,  धर्मग्रन्थ अनुसार भगवानले नै यमराजलाई मृत्युको देवताको रुपमा जिम्मेबारी दिनुभएको हो । यदि भैँसी देवताको वाहन हो भने, देवताको वाहनको शिर छेदन किन?

भैँसीको शिर छेदन गरेर मानिस अमर हुने हो र, मानिसले मृत्यु आफु जन्मिदै लिएर आएको हुन्छ भने त्यो अबोध राँगा, भैसीको के दोष ।
धर्मग्रन्थमा आफुभित्र भएको पशुत्व अर्थात पशु सरहको बोली, व्यवहार र संस्कारको बली दिनु भनिएको हो, नकरात्मक उर्जाको बली दिनु भनिएको हो ।
मानिसले यहि धर्मग्रन्थको ज्ञानलाई गलत अर्थ लगाएर अथवा अज्ञानताले पशु बली दिइएको हो ।

दुर्गामाताले दैत्यको संहार गर्नु भएको हो तर मानिस आफु भित्रको दैत्य चरित्रलाई संहार नगरी, दैत्यको वाहनको नाममा अबोध पशुको चाही किन संहार गर्छ ।

दुर्गामाता, गढीमाईले पशु बली माग्नु भएको कुनै प्रमाणिता छ र?, एउटी आमाले आफ्नै सन्तानको बली मागुन पनि कसरी । मानिस मन्दिर गएर पशु बली दिएर गढिमाई, आदि जगतमातालाई किन पिडा दिन्छ ।

मानिस आफै भगवानको पुत्र हो, मानिसमा आफै भित्र भगवान बन्ने शक्ति, सामर्थ र ज्ञान हुन्छ, मानिस किन आफ्नै शक्ति र आत्मा ज्ञानको खोजी गर्दैन । र शक्ति र सिद्धिको नाममा अबोध पशुहरुलाई मार्ने र चपाउने किन गर्छ मानव ।

आध्यात्मिक मार्गमा महाकालीले ठुलो अर्थ राख्नुहुन्छ किनकी काली मातालाई नकरात्मक उर्जाको बध गर्ने जगतको महाशक्तिको रुपमा लिइन्छ , तर मानिसले भने पशुको बध गर्ने शक्तिको रुपमा लिएका छन । यदि होइन भने कालीमाँ, दुर्गामाँको नाममा मानिस किन पशुको बली दिइरहन्छ ।